कप्तानगञ्ज घटनामा मृत्यु भएका रवीन्द्र मेहताको शव बुझ्न परिवारको अस्वीकार, गृहमन्त्री शिक्षण अस्पताल पुग्ने तयारी


कप्तानगञ्ज घटनामा मृत्यु भएका रवीन्द्र मेहताको शव बुझ्न परिवारको अस्वीकार, गृहमन्त्री शिक्षण अस्पताल पुग्ने तयारी
  • नवकिरण
  • श्रावण १९, २०८३

काठमाडौं, साउन १९ – सुनसरीको कप्तानगञ्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा निधन भएपछि उनका परिवारले शव बुझ्न अस्वीकार गरेका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत मेहताको ज्यान गएपछि उनका आफन्त अस्पताल परिसरमै धर्नामा बसेका छन्। उनीहरूले आफ्ना मागप्रति सरकार स्पष्ट नहुँदासम्म र गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भएर जवाफ नदिँदासम्म शव नउठाउने अडान लिएका छन्।

परिवारको अडानपछि गृहमन्त्री गुरुङ शिक्षण अस्पताल जाने तयारीमा रहेको जनाइएको छ। उनी अस्पताल पुगेर पीडित परिवारसँग प्रत्यक्ष संवाद गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ।

यसअघि गृहमन्त्री गुरुङले दिउँसोदेखि हिन्दु तथा मुस्लिम समुदायका अगुवासँग कप्तानगञ्ज घटनाबारे छलफल गरेका थिए। छलफल सकिएलगत्तै उनी अस्पतालतर्फ प्रस्थान गर्ने तयारीमा रहेको जानकारी प्राप्त भएको छ।

कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग थप चर्किएको छ। अहिले अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनालाई लिएर स्थानीयस्तरमा समेत चासो बढिरहेको छ।