काठमाडौं, साउन २९ – गृहमन्त्री सुधन गुरुङले कुनै व्यक्तिमाथि उजुरी परेको वा आरोप लागेको भरमा तत्काल दोषी घोषणा गर्न नमिल्ने बताएका छन्।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) माथि छानबिन गर्न माग गरेको विषयमा प्रतिक्रिया दिएका हुन्।
सांसद सुनारले लेखा समितिको बैठकमा प्रहरीको पोसाक खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै आईजीपीमाथि छानबिन आवश्यक रहेको बताएका थिए।
त्यसप्रति गृहमन्त्री गुरुङले आरोप लाग्दैमा कसैलाई दोषी ठहर गर्ने अधिकार कसैसँग नरहेको बताए। उनका अनुसार आरोपको निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणका आधारमा मात्रै निष्कर्ष निकाल्नुपर्छ।
‘एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन,’ गृहमन्त्री गुरुङले भने, ‘आरोप कसैले जे लगाउन पनि सक्यो भन्दैमा कसैको चरित्र हत्या गर्न पाइँदैन।’
उनले आरोप पुष्टि नभएसम्म सम्बन्धित व्यक्तिलाई दोषी करार गर्न नमिल्ने स्पष्ट पार्दै यस विषयमा गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको बताए।
