रोल्पा, साउन ३० – रोल्पाको पूर्वी क्षेत्रमा लगातारको वर्षापछि गएको पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बुधबार र बिहीबार मात्रै थबाङ र सुनछहरी गाउँपालिकामा पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। दुई जना घाइतेको बुटवलस्थित अस्पतालमा उपचार भइरहेको छ।
थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार गएको पहिरोले बस्ती नै प्रभावित बनाउँदा ११ जनाको ज्यान गएको छ। पहिरोमा परी ९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनामा घर, पसल, गोठ र चर्चसहित १३ वटा संरचना समेत बगेका छन्।
घटनापछि थबाङमा पीडित परिवार र स्थानीयवासी शोकमा डुबेका छन्। गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनका अनुसार यति ठूलो क्षति हुने गरी पहिरो आउला भन्ने स्थानीयले कल्पना गरेका थिएनन्।
यस्तै, सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पनि पहिरोले चार जनाको ज्यान लिएको छ। फलबाङमा ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनी घर्तीमगर र ७० वर्षीया लली घर्तीमगर तथा गिट्ठेमा ६४ वर्षीय लामी घर्तीमगरको मृत्यु भएको हो।
थबाङमा पहिरोपीडितको उद्धार तथा खोजीमा खटिएका सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले आफ्नै पालिकामा पनि त्यस्तै दुःखद घटना भएपछि आफू मर्माहत भएको बताएका छन्। उनले प्राकृतिक विपत्तिले क्षणभरमै ठूलो क्षति पुर्याउन सक्ने भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
लगातारको वर्षापछि रोल्पाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ। दुई दिनमा मात्रै १५ जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जना घाइते भएपछि थबाङ र सुनछहरी गाउँपालिका गम्भीर शोकमा छन्। घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ।
