काठमाडौँ, वैशाख २३ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनसम्बन्धी रिपोर्ट उच्चस्तरीय समितिले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई हस्तान्तरण गरेको छ।
समितिका सदस्य विनोद कुँवर र सदस्यसचिव जानकी गुरुङले वैशाख २० र २१ गते सम्पन्न महाधिवेशनको विवरणसहितको प्रतिवेदन बुझाएका हुन्।
महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। मन्त्री राणाले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरिन्।
उनले अदालतमा रहेका मुद्दाहरू कानुनी प्रक्रिया अनुसार समाधान गरिने र एनआरएनहरूसँग सहकार्य गर्दै नेपालको विकासमा अघि बढ्ने बताइन्।
सचिव अमृत बहादुर राईले मन्त्रालय सहकार्य गर्न तयार रहेको जनाए भने अध्यक्ष श्रेष्ठले सरकारले दिएको समर्थनप्रति आभार व्यक्त गरे।
पूर्व अध्यक्ष भवन भट्ट, अभियन्ता आरके शर्मा लगायतले एकताका लागि सरकारको भूमिका सराहना गर्दै समस्याहरू समाधान गर्न सहकार्यको प्रतिबद्धता जनाए।