काठमाडौं, असार ३ – स्वास्थ्य मन्त्रालयअन्तर्गत कार्यरत डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गर्दै कार्यक्षेत्रमा भोगेको प्रशासनिक अन्याय र मानसिक दबाबबारे गुनासो गरेका छन्।
मंगलबार मन्त्रीक्वार्टर भैंसेपाटीमा गृहमन्त्री लेखकलाइ भेट गरेका डा. श्रेष्ठले आफूलाई रामेछाप अस्पतालमा काम गर्दा झुटा आरोप लगाइएर अमानवीय व्यवहार गरिएको गुनासो पोखेका थिए।
गृहमन्त्री लेखकले डा. श्रेष्ठको भनाइमा सहानुभूति जनाउँदै, जस्तोसुकै अवस्थाको सामना गर्दै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका छन्।
यसअघि डा. श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए। उनले फेसबुकमा “अलविदा” लेख्दै आत्महत्या गर्न लागेको संकेत दिएका थिए। त्यसपछि प्रहरीले खोजी गर्ने क्रममा उनलाई बालाजु क्षेत्रबाट सकुशल फेला पारेको थियो।
झन्डै दुई वर्ष रामेछाप अस्पतालमा कार्यरत रहेका डा. श्रेष्ठ केही दिनअघि हेटौंडा सरुवा भएका थिए। तर, उनले फेसबुकमा लेख्दै आफूले काम गरेको अस्पतालबाटै अन्यायपूर्ण व्यवहार भोग्नु परेको र त्यसले आत्महत्याको अवस्थामा पुर्याएको बताएका थिए।
उनको घटनाले हाल सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूले भोग्ने दबाब र प्रशासनिक अव्यवस्थामाथि प्रश्न उठाएको छ।