आज ३० जिल्लामा बाढीको जोखिम, २५ जिल्लामा पहेँलो सतर्कता जारी


आज ३० जिल्लामा बाढीको जोखिम, २५ जिल्लामा पहेँलो सतर्कता जारी
  • नवकिरण
  • अषाढ १७, २०८२

काठमाडौं, असार १७ – आज मङ्गलबार देशका ३० जिल्लामा बाढीको जोखिम देखिएको छ भने काठमाडौँसहित २५ जिल्लामा जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले ‘पहेँलो सतर्कता (Yellow Alert)’ जारी गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बहने केही ससाना नदीहरूको बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ।

महाशाखाले कोसी, नारायणी, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा जलसतह बढ्दो अवस्थामा रहेको जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

बाढीको मध्यम जोखिम भएका २५ जिल्ला

दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर, संखुवासभा, रसुवा, कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा बहने नदी तथा खोलामा मध्यम खालको आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ। यी जिल्लालाई महाशाखाले पहेँलो सूचीमा राखेको छ।

सामान्य जोखिम भएका अन्य ५ जिल्ला

त्यसैगरी ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र जाजरकोट लगायतका जिल्लामा पनि केही ससाना नदीहरूमा उल्लेख्य बहाव वृद्धि भई आकस्मिक बाढीको सामान्य जोखिम देखिएको बाढी महाशाखाले जनाएको छ।

महाशाखाले बाढीको जोखिम भएका सबै जिल्लाका नदी तथा खोलाको आसपास बसोबास गर्ने बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, सुरक्षित स्थानमा सर्न तयार रहन र मौसमसम्बन्धी जानकारी नियमितरूपमा बुझिरहन आग्रह गरेको छ।