काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकको अधिकार संरक्षणका लागि बनेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईंले आगामी मंसिर ७ गतेदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।
बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले आन्दोलनको औपचारिक जानकारी आयोगलाई पनि दिएको बताए।
उनका अनुसार आन्दोलनको उद्देश्य देशमा देखिएका राजनीतिक, सामाजिक र नैतिक विकृतिविरुद्ध आवाज उठाउने हो। उनले भने, “हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ, तर यदि कसैले बन्द उल्लंघन गर्छ, तोडफोड वा आगजनीजस्ता गतिविधि गर्छ भने त्यसको जिम्मेवारी अभियानले लिने छैन।”
प्रसाईंले सबै नागरिकलाई शान्तिपूर्वक सहभागी हुन आह्वान गर्दै आन्दोलनबाट देशमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
