 
  
   
 

काठमाडौँ, कात्तिक १४ – काठमाडौँ महानगरपालिकाले शुक्रबार थापाथलीस्थित कालमोचन क्षेत्रको राममन्दिर परिसरमा निर्माण भएका अवैध टहराहरू डोजर प्रयोग गरी हटाएको छ।
महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डाका अनुसार गुठी संस्थानको जग्गामा गैरकानूनी रूपमा बनेका व्यावसायिक संरचनाहरू भत्काइएका हुन्। उनले भने, “गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर र व्यापारिक टहरा निर्माण गरिएको थियो, अहिले ती सबै संरचना हटाइएका छन्।”
कार्यवाहीका क्रममा महानगरको टोलीसँगै प्रहरी बल पनि खटिएको थियो। उक्त क्षेत्र लामो समयदेखि अतिक्रमणमा परेको भन्दै महानगरले पटक–पटक चेतावनी दिए पनि अतिक्रमण नहटाएपछि शुक्रबार बल प्रयोग गरी जग्गा खाली गरिएको हो।
महानगरले पछिल्लो समय शहरका विभिन्न स्थानमा गुठी र सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ।

 
					     
					    