काठमाडौं, कार्तिक १५ – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले गरेका पार्टीमा पुनः फर्किनका लागि पुराना नेताहरूलाई आह्वानलाई सकारात्मक र सान्दर्भिक बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले एमाले निर्माणमा योगदान पुर्याएका सबै कमरेडहरूलाई पुनः आन्दोलनमा सहभागी हुन गरेको आह्वान समयानुकूल कदम भएको बताए।
भट्टराईले जनताको बहुदलीय जनवाद (जवज) को सिद्धान्तमा विश्वास गर्नेहरूका लागि एमाले नै प्रमुख केन्द्र हुनुपर्ने बताएका छन्। उनका अनुसार, “शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धात्मक माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको साझा थलो एमाले हुनै पर्छ।”
उनले निषेध, प्रतिशोध र घृणाको राजनीति त्याग्दै सहकार्य र सहअस्तित्वका माध्यमबाट पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास व्यक्त गरे।
सचिव भट्टराईले वाम आन्दोलनको पुनः एकता आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै एमालेको नेतृत्वमा यो अभियान अघि बढाउनुपर्नेमा जोड दिए।
