काठमाडौं, कार्तिक १६ – नेपाली कांग्रेसको नियमित महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै युवा कार्यकर्ताहरूले शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।
युवाहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै कार्यालयको मुख्य गेटमै ताला झुन्ड्याएका हुन् । उनीहरूले पार्टी भित्रको अनिर्णयशीलताका कारण संगठन निष्क्रिय हुँदै गएको आरोप लगाउँदै तत्काल निर्णय प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
तालाबन्दीमा सहभागी कार्यकर्ताहरूले महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि राखेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक २८ असोजदेखि निरन्तर स्थगित हुँदै आएको छ । शुक्रबारका लागि तय गरिएको बैठक पुनः नबसी मंगलबारका लागि सारिएपछि असन्तुष्ट कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् ।
विरोध कार्यक्रममा सहभागी विद्यार्थी नेता भुवन भट्टका अनुसार, नेतृत्वले बारम्बार बैठक सार्दै जिम्मेवारीबाट पन्छिन खोजेकाले तालाबन्दी गर्नुपरेको हो । “पार्टी अनिर्णयको बन्दी बनेको छ, अब युवाहरू चुप बस्दैनन्,” उनले भने ।
