काठमाडौँ, कात्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अधिकांश नेता र कार्यकर्ताहरू चाँडै आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।
बुधबार राजधानीमा भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग ७ बुँदे सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व कमजोर हुँदै गएको दाबी गरे।
उनका अनुसार अहिले १२ वटा राजनीतिक दल र समूहहरू एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भइसकेका छन्। “१२ वटा समूह अहिले एक ठाउँमा आएका छन्। ओलीजीका कुरा हावादारी छन्, एमाले छोडेर सबै यहाँ आइपुग्छन्,” प्रचण्डले भने।
गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दल र समूहहरू एकीकृत भई ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको थियो। प्रचण्डले सो एकीकरणलाई देशको राजनीतिक स्थायित्व र बाम आन्दोलनको पुनर्गठनतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।
