काठमाडौँ, मंसिर २८ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जागिर वा कुनै पद रिक्त रहेको भन्दै मन्त्रीहरूलाई सिफारिस गर्न दबाब दिने प्रवृत्ति तत्काल अन्त्य हुनुपर्ने बताएका छन्। यस्तै संस्कारका कारण मुलुकमा कुशासन र भ्रष्टाचार गहिरिँदै गएको उनको भनाइ छ।
मन्त्री पुनले आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ‘जागिर खाली रहेछ, भनिदिनुस् न मन्त्रीज्यू’ भन्ने अनुरोधहरू नै गलत अभ्यासको सुरुवात भएको उल्लेख गरेका छन्। योग्यताभन्दा पहुँच, चाकरी र स्वार्थलाई प्राथमिकता दिने प्रवृत्तिले राज्य प्रणाली कमजोर बनेको उनले बताए।
उनका अनुसार नेताहरूले व्यक्तिगत तथा पार्टी हितका लागि नियम–कानुन मिच्दै अयोग्य र लोभी व्यक्तिहरूलाई जिम्मेवार पदमा पुर्याउँदा भ्रष्टाचारले जरा गाडेको हो। यसकै परिणामस्वरूप अहिले युवापुस्तामा व्यापक असन्तोष देखिएको र त्यसले ‘जेन–जी विस्फोट’को अवस्था सिर्जना गरेको उनको निष्कर्ष छ।
मन्त्री पुनले पारदर्शी प्रक्रिया, मेरिट प्रणाली र कानुनी शासनको पूर्ण पालना बिना सुशासन सम्भव नहुने भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
