चुनावको मितिमा कुनै हेरफेर नगर्न राष्ट्रपतिको आग्रह


चुनावको मितिमा कुनै हेरफेर नगर्न राष्ट्रपतिको आग्रह
  • नवकिरण
  • मंसिर २८, २०८२

काठमाडौं, मंसिर २८ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते नै सम्पन्न हुने गरी सरकारले सम्पूर्ण तयारी केन्द्रित गर्न निर्देशन दिएका छन्। उनले निर्वाचनको तोकिएको मितिमा कुनै पनि किसिमको दायाँ–बायाँ नहुने स्पष्ट सन्देश दिएका हुन्।

राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपतिले चुनावी प्रक्रियालाई असर नपर्ने गरी सरकारी गतिविधि सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुका साथै सुरक्षा व्यवस्थाप्रति विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन्। उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सुरक्षित बनाउन नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई अझ तदारुकताका साथ परिचालन हुन आग्रह गरेका छन्।

सोही अवसरमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रपतिसमक्ष परिषद्को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन्।