काठमाडौँ, पुस १ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटी सदस्य पदका लागि मात्र उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलमा उपाध्यक्षका रूपमा नाम समेटिए पनि ज्ञवालीले महासचिवबाहेक अन्य कुनै पदमा प्रतिस्पर्धा नगर्ने अडान दोहोर्याएका थिए।
स्रोतका अनुसार आइतबार साँझ गुण्डुमा भएको छलफलमा समेत उनले आफ्नो चाहना स्पष्ट पारेका थिए। तर प्यानल सार्वजनिक हुने क्रममा उनलाई उपाध्यक्षको सूचीमा राखिएपछि उनले त्यसमा सहमति जनाएनन्। सोमबार बिहान भृकुटीमण्डपस्थित बन्दसत्र हल पुगेका ज्ञवाली केही समयपछि भावुक अवस्थामा बाहिरिएका थिए। पछि पुनः मनोनयन प्रक्रियामा सहभागी भई उनले केन्द्रीय सदस्य पदका लागि मात्रै उम्मेदवारी दर्ता गराए।
उनीनिकट स्रोतले जनाएअनुसार, उक्त घटनाक्रमपछि ज्ञवाली निकै चित्त दुखाएको अवस्थामा देखिएका थिए। उनले निकटस्थहरूसँग पार्टीभित्र एउटै व्यक्तिलाई बारम्बार अवसर दिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै समान प्रतिस्पर्धाको वातावरण नबनेको गुनासो गरेका छन्।
‘म पार्टीको पदाधिकारीको भूमिकामा थिएँ, अब कार्यकर्ताका रूपमा सक्रिय रहन्छु,’ उनले भनेका छन्, ‘सबैलाई बराबरी प्रतिस्पर्धाको अवसर हुनुपर्छ भन्ने मान्यता व्यवहारमा देखिन सकेन, यसले मलाई गहिरो पीडा दिएको छ।’
ज्ञवालीले आफू पार्टी आन्दोलनबाट अलग नहुने स्पष्ट पारेका छन्। उनका अनुसार केन्द्रीय सदस्यबाहेक अन्य कुनै पदमा उनको उम्मेदवारी रहने छैन।
