काठमाडौं, पुस २ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा आजका लागि तोकिए पनि स्थगित भएको छ।
युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा आज पेसी तोकिएको थियो । तर, विभिन्न कारणले सो रिटमाथि सुनुवाइ हुन सकेन।
महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो, जुन निर्णय कानुनविपरीत भएको दाबी गर्दै पौडेलले दुई वर्षअघि सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले महान्यायाधिवक्ताको निर्णय पूर्वाग्रही र कानुनी प्रक्रिया विपरीत रहेको जिकिर गरेका छन्।
२०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेको थियो। यसअघि प्रहरी तथा सरकारी वकिल कार्यालयले पनि सोही निष्कर्ष निकालिसकेका थिए।
रिट निवेदनमा लामिछाने अमेरिकी नागरिक हुँदाहुँदै पनि आफूलाई नेपाली नागरिक भनेर पासपोर्टका लागि निवेदन दिई नेपाली राहदानी प्राप्त गरेको कार्य राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीत रहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा पनि मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण रहेको पौडेलको भनाइ छ।
त्यस्तै, महान्यायाधिवक्ताले लामिछानेको राहदानी लिने कार्यमा आपराधिक मनसाय नरहेको निष्कर्ष निकाल्नु आफ्नो अधिकार क्षेत्र बाहिरको निर्णय भएको दाबी पनि रिटमा गरिएको छ।
