मध्यपूर्व संकट : खाडी मुलुकका लागि श्रम स्वीकृति अनिश्चितकालीन स्थगित


मध्यपूर्व संकट : खाडी मुलुकका लागि श्रम स्वीकृति अनिश्चितकालीन स्थगित
  • नवकिरण
  • फागुन १७, २०८२

काठमाडौं, फागुन १७ – मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको अस्थिर अवस्थाका कारण सरकारले खाडी राष्ट्रहरूमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई दिँदै आएको श्रम स्वीकृति हाललाई रोक्ने निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले क्षेत्रीय तनावले सुरक्षा जोखिम बढाएको निष्कर्षसहित नयाँ श्रम स्वीकृति जारी नगर्ने निर्णय गरिएको जानकारी दिए। परिस्थितिको निरन्तर मूल्यांकनपछि मात्र आगामी कदम तय गरिने उनले बताए।

यसैबीच, परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी मध्यपूर्वको सुरक्षा अवस्था र त्यहाँ रहेका नेपाली नागरिकहरूको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार हाल विभिन्न मध्यपूर्वी देशमा १७ लाख २९ हजार २ सय ८८ नेपाली बसोबास गरिरहेका छन्।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सम्बन्धित देशस्थित नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राखिएको र नेपाली समुदायसँग नियमित समन्वय भइरहेको बताए। ट्राभल एड्भाइजरी जारी गरिसकिएको उल्लेख गर्दै उनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र अनुसरण गर्न आग्रह गरे।

सहसचिव कृष्णप्रसाद ढकालले सरकार नेपाली नागरिकको सुरक्षाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै सम्भावित आपतकालीन अवस्थाका लागि उद्धार संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिए।

सरकारले हालको संवेदनशील परिस्थितिमा अत्यावश्यक बाहेक ती देशहरूको यात्रा नगर्नसमेत नागरिकलाई अनुरोध गरेको छ।