को कति धनी ? मन्त्रीहरूको सुन विवरणले बढायो जिज्ञासा


को कति धनी ? मन्त्रीहरूको सुन विवरणले बढायो जिज्ञासा

|Oplus_131072

  • नवकिरण
  • चैत्र ३०, २०८२

काठमाडौं, चैत ३० – प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ विवरण सार्वजनिक गरेसँगै लामो समयदेखि उठिरहेको पारदर्शितासम्बन्धी बहसले नयाँ मोड लिएको छ।

सार्वजनिक विवरणअनुसार उद्योगमन्त्री गौरी कुमारीसँग सबैभन्दा धेरै सुन रहेको देखिएको छ। उनले १८० तोला सुन रहेको उल्लेख गरेकी छन्। प्रधानमन्त्री शाहले भने १९० तोला गरगहना रहेको बताएका छन्, तर त्यसको प्रकृति स्पष्ट रूपमा खुलाइएको छैन।

अन्य मन्त्रीहरूमध्ये गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला र श्रममन्त्री रामजी यादवसँग ८० तोला सुन रहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले ४५ तोला सुन देखाएका छन् भने भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र स्वास्थ्य मन्त्री निशा मेहेतासँग ३०–३० तोला सुन रहेको उल्लेख गरिएको छ।

त्यसैगरी संघीय मामिला मन्त्री प्रतिभा रावल र शिक्षामन्त्री सस्मित पोखरेलसँग २५–२५ तोला, परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला तथा महिला, बालबालिका मन्त्री सीता वादीसँग १८ तोला सुन रहेको देखिएको छ।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र कानुनमन्त्री सोविता गौतमसँग १५–१५ तोला, पर्यटनमन्त्री खडकराज पौडेलसँग ११ तोला, सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग करिब ७ तोला र कृषि मन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको विवरणमा उल्लेख छ।

सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा नागरिकहरूको चासो बढेको छ। विशेषगरी मन्त्रीहरूको गरगहना र सम्पत्तिको स्रोतबारे बहस चुलिँदै गएको देखिन्छ।