काठमाडौं, चैत ३० – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा शल्यक्रियाबाट निकालिएको छ। चिकित्सकका अनुसार २२ एमएमको ढुंगा सफलतापूर्वक हटाइएको हो।
डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा चिकित्सक टोलीले गरेको शल्यक्रिया सम्पन्न भएपछि ओलीलाई आईसीयूमा राखेर निगरानी गरिएको छ। अस्पतालले उनको स्वास्थ्य अवस्थालाई स्थिर रहेको जनाएको छ।
पछिल्लो समय स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका ओलीको शल्यक्रिया आवश्यक देखिएपछि उक्त प्रक्रिया अघि बढाइएको थियो। हाल उनी चिकित्सकको निगरानीमा उपचाररत छन्।
यसअघि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका ओलीलाई अदालतको आदेशपछि शर्तसहित रिहा गरिएको थियो। रिहापछि पनि उनी अस्पतालमै बसेर उपचार गराइरहेका थिए।
ओलीकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी थिइन्। अदालतले अनुसन्धान समयमै टुंग्याउन निर्देशन दिएपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको थियो।
