सामाजिक सञ्जालमा आलोचना बढेपछि गृहमन्त्री गुरुङले हटाए पोस्ट


सामाजिक सञ्जालमा आलोचना बढेपछि गृहमन्त्री गुरुङले हटाए पोस्ट
  • नवकिरण
  • चैत्र ३०, २०८२

काठमाडौं, चैत ३० – गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा सम्पत्ति विवरणबारे राखेको आफ्नो अभिव्यक्ति अन्ततः हटाएका छन् । सार्वजनिक भएको मन्त्रीहरूको सम्पत्तिबारे चर्को बहस भइरहेका बेला उनले दिएको प्रतिक्रिया झन् विवादित बनेपछि उक्त पोस्ट हटाइएको हो ।

मन्त्रीहरूको सम्पत्ति अपेक्षाभन्दा धेरै देखिएको भन्दै व्यापक आलोचना हुन थालेपछि गुरुङले आफू सरकारमा आउनुअघि कमाएको सम्पत्ति कुनै गलत कार्य नभएको जिकिर गरेका थिए । तर उनको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा थप आलोचना चुलिएको थियो ।

आलोचना बढ्दै गएपछि उनले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत राखेको स्टोरी समेत हटाएका हुन् । उक्त स्टोरीमा उनले गरिबी र सम्पत्तिबारे विवादास्पद धारणा सार्वजनिक गरेका थिए ।

यसअघि आइतबार प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको थियो । विवरण सार्वजनिक भएसँगै विशेषगरी सुन, चाँदी लगायतका गरगहनाबारे नागरिक तहमा प्रश्न र आलोचना बढेको थियो ।

यही सन्दर्भमा गुरुङले ‘जन्मिँदा गरिब हुनु गल्ती होइन तर मर्दा गरिब हुनु गल्ती हो’ भन्ने आशय व्यक्त गरेका थिए । साथै उनले सरकारमा आउनुअघि इमान्दारीपूर्वक कमाएको सम्पत्तिलाई पाप नभएको र सत्तामा पुगेपछि भ्रष्टाचार गरेर कमाउनु मात्र गलत हुने बताएका थिए ।

तर उनको उक्त भनाइप्रति व्यापक असन्तुष्टि देखिएपछि अन्ततः उनले सामाजिक सञ्जालबाट सो अभिव्यक्ति हटाएका छन् ।