काठमाडौं, वैशाख २ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको छ । हाल उनी आईसीयूमा उपचाररत रहे पनि चिकित्सकहरूले चाँडै वार्डमा सार्ने तयारी गरेका छन्।
गत सोमबार पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा सफल शल्यक्रियामार्फत निकालिएको थियो । त्यसपछि उनलाई निगरानीका लागि आईसीयूमा राखिएको हो।
चिकित्सकहरूका अनुसार अहिले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी उपचारमा राम्रो प्रतिक्रिया दिइरहेका छन्।
अस्पताल स्रोतका अनुसार उनलाई अझै तीन–चार दिन अस्पतालमै राखेर निगरानी गरिनेछ । स्वास्थ्यमा थप सुधार आएपछि डिस्चार्ज गर्ने तयारी गरिनेछ।
यसअघि पक्राउ परेका ओलीलाई सर्वोच्च अदालतको आदेशपछि शर्तसहित रिहा गरिएको थियो । शल्यक्रिया गर्नुपर्ने भएपछि उनी अस्पतालमै बसेर उपचार गरिरहेका छन्।
ओलीकी पत्नी राधिका शाक्यले दायर गरेको निवेदनपछि अदालतले अनुसन्धान समयमै सक्न निर्देशन दिएको थियो । सोही प्रक्रियाअनुसार उनलाई पत्नीको जिम्मामा छाडिएको हो।
