काठमाडौं, वैशाख ३ – पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा विभिन्न विद्यार्थी संगठनहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
विरोध कार्यक्रममा सहभागी विद्यार्थीहरूले महँगी नियन्त्रण गर्न र पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर हटाउन सरकारसँग माग गरेका छन् । उनीहरूले मूल्यवृद्धिले जनजीवन कष्टकर बन्दै गएको बताएका छन् ।
प्रदर्शनका क्रममा ‘बाँच्न दे सरकार’, ‘मूल्यवृद्धि नियन्त्रण गर’, ‘जनतालाई छैन खाने नुन’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरिएको थियो । यससँगै सरकारको नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै आर्थिक भार घटाउन आग्रह गरिएको छ ।
सहभागीहरूले प्रदर्शनलाई फरक शैलीमा प्रस्तुत गर्न कराइ, डाडु जस्ता भान्साका सामग्री पनि बोकेका थिए । यसले घरायसी खर्चमा परेको असरलाई देखाउन खोजिएको उनीहरूको भनाइ छ ।
विद्यार्थी संगठनहरूले तत्काल मूल्यवृद्धि फिर्ता लिन र जनताको पक्षमा निर्णय गर्न सरकारलाई दबाब दिएका छन् ।
