गल्ती गरे सम्बन्ध होइन, कानुन बोल्छ : सुदन गुरुङ


गल्ती गरे सम्बन्ध होइन, कानुन बोल्छ : सुदन गुरुङ
  • नवकिरण
  • बैशाख ४, २०८३

काठमाडौं, वैशाख ४ – गृहमन्त्री सुधन गुरुङले कानुन उल्लंघन गर्ने जोसुकैलाई पनि नछाड्ने बताएका छन् । उनले आफ्नै परिवारका सदस्य भए पनि गल्ती गरे कारबाही अनिवार्य हुने स्पष्ट पारे ।

सुरक्षा पत्रकारहरूसँग बिहीबार साँझ भएको अन्तरक्रियामा उनले कसैप्रति पक्षपात नगरी कानुन कार्यान्वयन भइरहेको बताए । ‘गल्ती गर्नेलाई म छुट दिन्नँ, त्यो मेरो बाबु नै किन नहोस्,’ उनले भने ।

उनले पछिल्लो समय भीआईपीमाथि गरिएका कारबाही अदालतबाट खारेज हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणमा लिन सुरक्षा निकायले ठूलो मेहनत गरेको उल्लेख गर्दै अदालतको निर्णयप्रति उनले गुनासो पोखे ।

‘हामी रातभर खटिएर काम गर्छौं, तर अदालतले सजिलै छाडिदिन्छ,’ उनले भने, ‘यसले गर्दा हाम्रो प्रयास प्रभावहीन भएको जस्तो देखिन्छ ।’

गृहमन्त्री गुरुङले कानुनी जटिलता बुझ्न आफूले थप अध्ययन गरिरहेको जानकारी दिए । अबको दिनमा पक्राउ गर्दा अदालतले छुट दिन नसक्ने आधार तयार गरेर अघि बढ्ने उनको योजना छ ।

उनले स्पष्ट पारे कि केही समय कारबाही सुस्त देखिए पनि त्यो रणनीतिक तयारीका कारण मात्र हो । अन्ततः गल्ती गर्नेलाई कानुनी दायरामा ल्याउने काम निरन्तर जारी रहने उनले दोहोर्‍याए ।