काठमाडौँ, वैशाख १५ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय संयोजन समिति बैठकमार्फत नेताहरूको प्रदेशगत जिम्मेवारी निर्धारण गरेको छ। मङ्गलबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले कार्यविभाजन टुंग्याएको हो।
पार्टी एकताको भावना अनुरूप प्रत्येक प्रदेशमा इन्चार्ज र सहइन्चार्ज फरक–फरक समूहबाट चयन गरिएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। उनका अनुसार कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राई र सहइन्चार्ज सावित्रिकुमार काफ्ले तोकिएका छन्।
त्यसैगरी मधेस प्रदेशको इन्चार्ज महिन्द्र राय यादवलाई जिम्मेवारी दिइएको छ भने सहइन्चार्जमा मात्रिका यादव र रामकुमार भट्टराई रहेका छन्। बागमती प्रदेशको इन्चार्ज डा. गङ्गालाल तुलाधर र सहइन्चार्ज हितबहादुर तामाङ रहेका छन्।
गण्डकी प्रदेशमा प्रारम्भिक रूपमा श्रीनाथ बराललाई इन्चार्ज तोकिए पनि पछि परिवर्तन गरी देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ भने बराल सहइन्चार्ज बनेका छन्। लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल इन्चार्ज र मेटमणि चौधरी सहइन्चार्ज रहेका छन्।
कर्णाली प्रदेशको इन्चार्ज चन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा डा. भीम रावल तोकिएका छन्। सुदूरपश्चिममा सहइन्चार्जका रूपमा खगराज भट्ट र रन्जिता श्रेष्ठ रहेका छन्। रावलले इन्चार्जको जिम्मेवारी नलिएमा भानुभक्त जोशीलाई विकल्पका रूपमा अघि सारिएको छ।
यस्तै, उपत्यका विशेष प्रदेशको इन्चार्ज हितमान शाक्य र सम्पर्क प्रदेशको इन्चार्जमा यशोदा सुवेदी तोकिएका छन्।
