बालाजुस्थित विद्यालयमा डोजर, नदी किनार अतिक्रमण हटाउने अभियान तीव्र


बालाजुस्थित विद्यालयमा डोजर, नदी किनार अतिक्रमण हटाउने अभियान तीव्र
  • नवकिरण
  • बैशाख १९, २०८३

काठमाडौं, वैशाख १९ – नदी किनारमा बनेका अतिक्रमित संरचना हटाउने सरकारी अभियानअन्तर्गत बालाजुस्थित एक विद्यालयमा समेत डोजर चलाइएको छ।

शनिबार बिहानदेखि बालाजु, स्वयम्भू लगायतका क्षेत्रका नदी आसपासमा संरचना हटाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ। सोही क्रममा काठमाडौं महानगरपालिका–१९ मा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा पनि डोजर प्रयोग गरिएको हो।

यसअघि शुक्रबार बल्खु, शंखमुल, वंशीघाट तथा बालाजु क्षेत्रका सुकुमवासी बस्तीका घर–टहरा भत्काइएको थियो। महानगरले नदी किनारका अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।

सरकारले काठमाडौं उपत्यकामा अतिक्रमित संरचना हटाउने दोस्रो चरणको काम शुक्रबारदेखि सुरु गरेको हो। पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरीगाउँ आसपासका संरचना हटाइएको थियो।

नदी किनारको सार्वजनिक जग्गा संरक्षण र जोखिमयुक्त बस्ती व्यवस्थापनका लागि यो अभियान सञ्चालन गरिएको जनाइएको छ।