काठमाडौं, वैशाख २८ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) की पत्नीलाई ‘राष्ट्रिय माता’ का रूपमा सम्मान गर्नुपर्ने अभिव्यक्ति दिएकी छन् । हिन्दू संस्कृतिमा उमेरभन्दा पनि सम्मानलाई प्राथमिकता दिइने भएकाले सानो उमेरकी महिलालाई पनि ‘आमा’ भनेर सम्बोधन गर्न सकिने उनले बताइन्।
चलचित्र ‘एक मुठ्ठी बादल’ को प्रिमियर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले केही दिनअघि दिएको आफ्नो अभिव्यक्तिको बचाउ गरेकी हुन्। आफूलाई ‘आमा’ नभन्न र बालेनकी पत्नीलाई आमा भन्न आग्रह गर्नुको अर्थ गलत रूपमा बुझाइएको उनको भनाइ थियो।
कार्कीले एक पत्रकारप्रति असन्तुष्टि व्यक्त गर्दै आफूलाई गलत ढंगले प्रस्तुत गरिएको आरोप लगाइन्। आफूविरुद्ध अपमानजनक टिप्पणी गरिएको भन्दै उनले उक्त व्यक्तिप्रति आक्रोश पोखिन्।
उनका अनुसार हिन्दू परम्परामा ‘आमा’ शब्द केवल जन्म दिने व्यक्तिसँग मात्र सीमित छैन। सम्मान र संस्कारका आधारमा पनि महिलालाई ‘माता’ भनेर सम्बोधन गर्ने परम्परा रहेको उनले उल्लेख गरिन्।
कार्कीले आफू अब हजुरआमाको उमेरमा पुगिसकेको भन्दै नयाँ पुस्तालाई सम्मान दिनुपर्ने सन्देशस्वरूप बालेनकी पत्नीलाई ‘माताश्री’ तथा ‘राष्ट्रिय माता’ को रूपमा स्वीकार गर्न आग्रह गरेको स्पष्ट पारिन्।
