लालपुर्जा वितरणअघि सुकुमवासीलाई १५ हजार रुपैयाँ घरभाडा दिने तयारी


लालपुर्जा वितरणअघि सुकुमवासीलाई १५ हजार रुपैयाँ घरभाडा दिने तयारी
  • नवकिरण
  • बैशाख ३१, २०८३

काठमाडौं, वैशाख ३१ – सरकारले वास्तविक सुकुमवासी तथा भूमिहीन परिवारलाई लालपुर्जा वितरण नभएसम्म मासिक १५ हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने तयारी अघि बढाएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुमवासी व्यवस्थापनको प्रगति विवरण प्रस्तुत गर्दै यस्तो योजना सार्वजनिक गरेका हुन् ।

सरकारका अनुसार काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन तथा सुकुमवासीहरूको पहिचानका लागि स्क्रिनिङ प्रक्रिया चलिरहेको छ । वास्तविक लाभग्राही पहिचान भएपछि फास्ट ट्र्याकमार्फत लालपुर्जा वितरण गर्ने लक्ष्य राखिएको छ ।

समिति सभापति हरि ढकालले लालपुर्जा प्राप्त नभएसम्म प्रभावित परिवारलाई अस्थायी बसोबासका लागि मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने तयारी रहेको जानकारी बैठकमा प्राप्त भएको बताए । उनका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि आवश्यक स्रोतको व्यवस्थापन पनि भइसकेको छ ।

सरकारी पक्षले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको शिक्षाका लागि विद्यालय बस सञ्चालन गरिएको तथा सुत्केरी महिलाहरूको स्वास्थ्य र पोषणमा समेत ध्यान दिइएको जनाएको छ ।

यस्तै, सरकारले प्रस्तुत गरेको प्रगति विवरणको वास्तविक अवस्था बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ ।