संविधान संशोधन बहसमा सहभागी हुन जेनजीलाई कार्यदलको आग्रह


संविधान संशोधन बहसमा सहभागी हुन जेनजीलाई कार्यदलको आग्रह
  • नवकिरण
  • जेष्ठ १, २०८३

काठमाडौं, जेठ १ – संविधान संशोधनका लागि सुझाव संकलन गरिरहेको कार्यदलले जेनजी प्रतिनिधिहरूलाई सकारात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ। आज साँझ ५ बजे तय गरिएको छलफलबारे विभिन्न भ्रम फैलिएको भन्दै कार्यदलले स्पष्टिकरण दिएको हो।

कार्यदलका संयोजक असिम शाहले बहसपत्रलाई पूर्ण बनाउन सबै सरोकारवालाको सुझाव आवश्यक रहेको बताए। उनले जेनजी प्रतिनिधिलाई पनि यही उद्देश्यले छलफलमा आमन्त्रण गरिएको स्पष्ट पारे।

केही जेनजी प्रतिनिधिले अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएपछि शाहले ती सहमति कार्यान्वयनकै चरणमा रहेको जानकारी दिए। जेनजी परिषद् गठनको काम अन्तिम चरणमा पुगेको पनि उनले बताए।

उनले अहिलेको छलफल संविधान संशोधनसम्बन्धी सुझावका लागि केन्द्रित भएकाले अन्य राजनीतिक विषयसँग नजोड्न आग्रह गरे। कार्यदलले मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने व्यवस्था मिलाएको जनाएको छ।

छलफलमा बोल्न समय कम दिइएको भन्ने प्रचारप्रति संकेत गर्दै शाहले कसैको आवाजलाई बेवास्ता नगरिने विश्वास दिलाए। उनले सबैलाई जिम्मेवार ढंगले संवादमा सहभागी हुन अनुरोध गरे।

कार्यदलले गत चैत २५ गतेदेखि विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल गर्दै आएको छ। शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयताजस्ता विषयमा साझा धारणा बनाउन यो प्रक्रिया अघि बढाइएको जनाइएको छ।