गोरखा, जेठ २ – गोरखाको सहिद लखन गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पालिका अधिवेशन विवादमा परेको छ । सभापतिका उम्मेदवारले नै निर्वाचन प्रक्रिया विधिविपरीत भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
पालिका सभापतिका लागि पुष्पाखर लामिछाने, मनोज श्रेष्ठ र अमृत श्रेष्ठ प्रतिस्पर्धामा थिए । सर्वसम्मतिको प्रयास असफल भएपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको थियो ।
उम्मेदवार मनोज श्रेष्ठले आफूलाई जानकारी नै नदिई मतदान र मतगणना गरिएको आरोप लगाएका छन् । उनले पार्टी सदस्य नभएका व्यक्तिबाट मतदान गराइएको तथा फर्जी मत खसालिएको दाबी गरेका छन् ।
मतगणनामा पनि धाँधली भएको आरोप असन्तुष्ट पक्षले लगाएको छ । मतपेटिका अन्यत्र लगेर उम्मेदवारको उपस्थितिबिनै गणना गरिएको भन्दै सम्पूर्ण प्रक्रिया बदर गर्न माग गरिएको छ ।
निर्वाचन परिणामअनुसार पुष्पाखर लामिछाने ९३ मतसहित सभापतिमा विजयी भएका छन् । अमृत श्रेष्ठले ४० मत प्राप्त गर्दा मनोज श्रेष्ठले २ मत मात्रै पाए ।
निर्वाचन समितिका प्रतिनिधि राजेश्वर अंगाईले भने विधानअनुसार नै निर्वाचन सम्पन्न गरिएको बताएका छन् । विवादपछि मतपेटिका सुरक्षित रूपमा जिल्ला पार्टी कार्यालय लगेर केन्द्र र प्रदेश प्रतिनिधिको उपस्थितिमा मतगणना गरिएको उनको भनाइ छ ।
