मर्मत तथा स्तरोन्नतिका लागि शनिबार उपत्यकाका विभिन्न क्षेत्रमा चार घण्टा बिजुली बन्द हुने


मर्मत तथा स्तरोन्नतिका लागि शनिबार उपत्यकाका विभिन्न क्षेत्रमा चार घण्टा बिजुली बन्द हुने
  • नवकिरण
  • जेष्ठ २२, २०८३

काठमाडौं, जेठ २२ – नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द हुने जनाएको छ। स्युचाटार सबस्टेशनमा मर्मत तथा स्तरोन्नतिको काम गरिन लागिएकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रभावित हुने भएको हो।

प्राधिकरणका अनुसार स्युचाटार र टेकु सबस्टेशनबाट सञ्चालित वितरण प्रणालीमा सटडाउन गर्नुपर्ने भएकाले चार वितरण केन्द्रअन्तर्गतका झण्डै १०० स्थानमा विद्युत् कटौती हुनेछ। प्रभावित क्षेत्रमा कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्रबाट सेवा लिइरहेका उपभोक्ता पर्नेछन्।

कलंकी, नैकाप, बलम्बु, स्वयम्भू, कुलेश्वर, बल्खु, कीर्तिपुर, चोभार, न्युरोड, असन, इन्द्रचोक, सुन्धारा, माइतीघर, सानेपा, झम्सीखेल, कुपण्डोल र भैंसेपाटीलगायत क्षेत्र विद्युत् कटौतीबाट प्रभावित हुने जनाइएको छ।

प्राधिकरणले १३२ केभी प्रसारण प्रणालीको क्षमता अभिवृद्धि तथा सबस्टेशन सुधार कार्यलाई प्रभावकारी बनाउन सटडाउन आवश्यक परेको जनाएको छ। निर्धारित काम सम्पन्न भएपछि विद्युत् सेवा पुनः नियमित गरिने बताइएको छ।

यसैबीच, अन्य सबस्टेशनमार्फत आपूर्ति हुने केही क्षेत्रमा समेत सामान्य प्रभाव पर्न सक्ने प्राधिकरणको भनाइ छ। मौसम प्रतिकूल भएमा कामको समय तालिका परिवर्तन हुन सक्ने जनाउँदै प्राधिकरणले उपभोक्तालाई आवश्यक तयारी गर्न आग्रह गरेको छ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा हुने असुविधाप्रति क्षमा माग्दै प्राधिकरणले सुधार कार्यले दीर्घकालीन रूपमा विद्युत् सेवाको गुणस्तर बढाउन सहयोग पुग्ने जनाएको छ।