मोबाइल नष्ट प्रकरणमा सिरहाका विद्यार्थी सडकमा उत्रिने


मोबाइल नष्ट प्रकरणमा सिरहाका विद्यार्थी सडकमा उत्रिने
  • नवकिरण
  • जेष्ठ २४, २०८३

सिरहा, जेठ २४ – एसईई र कक्षा–१२ परीक्षाका बेला जफत गरिएका मोबाइल फोन तथा स्मार्टवाच नष्ट गरिएको घटनाको विरोधमा सिरहाका विद्यार्थी संगठनहरूले आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले सरकारसँग पीडित विद्यार्थीलाई क्षतिपूर्ति दिन र घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

संयुक्त विद्यार्थी संगठनले सोमबार जिल्ला प्रशासन कार्यालय सिरहाअगाडि प्रदर्शन गर्ने जनाएको छ। आन्दोलनमार्फत मोबाइल नष्ट गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीको सम्पत्तिको क्षति भएको दाबी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले परीक्षाको मर्यादा कायम राख्ने उद्देश्यले जफत गरिएका सात आईफोनसहित ४८९ मोबाइल फोन र पाँच स्मार्टवाच नष्ट गरेको थियो। प्रशासनका अनुसार ती उपकरणलाई पानीमा डुबाएर प्रयोग गर्न नसकिने बनाइएपछि फुटाएर नष्ट गरिएको हो।

मोबाइल नष्ट गर्ने कार्यमा जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा शिक्षा विकास तथा समन्वय इकाइका प्रतिनिधि सम्मिलित समितिले काम गरेको जनाएको छ। तर, उक्त कदम कानुनी र नैतिक रूपमा उचित नभएको भन्दै विद्यार्थी संगठन, अभिभावक तथा कानुन व्यवसायीहरूले विरोध जनाएका छन्।

विद्यार्थी नेताहरूले घटनामा जिम्मेवार निकायलाई जवाफदेही बनाउन र पीडित विद्यार्थीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको बताएका छन्।