काठमाडौं, जेठ २५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसद्मा उठाइएका सबै विषयमा प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने अवस्था नरहेको बताएका छन्।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले नेपाल–भारत सीमा सम्बन्धी विषय परराष्ट्र मन्त्रालयको जिम्मेवारीभित्र पर्ने भएकाले सम्बन्धित मन्त्रीले नै सरकारको तर्फबाट धारणा राख्ने बताए।
संसद्को अवरोध हटाउने विषयमा छलफल भएको उल्लेख गर्दै उनले सरकारका मन्त्रीहरूले सदनमा दिने जवाफलाई नै सरकारको आधिकारिक धारणा मान्नुपर्ने बताए। बुर्लाकोटीले संसद्को गतिरोध अन्त्य गर्न दलहरूबीच संवाद जारी रहेको जानकारी पनि दिए।
उनका अनुसार बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणका विषयमा जानकारी गराएका थिए भने सहभागीहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिने प्रयास समेत गरिएको थियो।
