बर्डफ्लु नियन्त्रणका लागि सरकारको तीव्र अभियान, लाखौँ पन्छी र अण्डा नष्ट


बर्डफ्लु नियन्त्रणका लागि सरकारको तीव्र अभियान, लाखौँ पन्छी र अण्डा नष्ट
  • नवकिरण
  • जेष्ठ २६, २०८३

काठमाडौँ, जेठ २६ – बर्डफ्लुको संक्रमण फैलिन नदिन सरकारले प्रभावित क्षेत्रमा नियन्त्रणका गतिविधि तीव्र बनाएको छ। रोग देखिएका विभिन्न जिल्लामा ‘द्रुत कार्य टोली’ परिचालन गरी संक्रमित तथा जोखिममा रहेका पन्छीजन्य उत्पादन नष्ट गर्ने कार्य जारी रहेको छ।

पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हालसम्म १० जिल्लाका ७२ वटा फार्ममा रहेका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको छ। संक्रमणका कारण विशेषगरी लेयर्स तथा स्थानीय जातका कुखुरा बढी प्रभावित भएका छन्।

रोग नियन्त्रण अभियानअन्तर्गत सात लाख अण्डा र १८३ टन पशुपन्छीको दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। केही साताअघि झापा, मोरङ र सुनसरीबाट सुरु भएको संक्रमण महोत्तरी, बारा, चितवन हुँदै काठमाडौँ उपत्यकासहित नवलपरासीसम्म फैलिएको छ।

विभागका अनुसार बर्डफ्लुको प्रभावकारी उपचार नभएकाले संक्रमण देखिएलगत्तै नियन्त्रण गरी थप फैलिन नदिनु नै मुख्य उपाय हो। यही कारण प्रभावित क्षेत्रका पन्छी तथा तिनका उत्पादन नष्ट गर्ने नीति अपनाइएको छ।

हाल काठमाडौँ उपत्यका उच्च जोखिममा रहे पनि चितवन लगायतका केही जिल्लामा संक्रमण नियन्त्रणको अवस्थामा पुगेको विभागको भनाइ छ। प्रभावित क्षेत्रमा सबै पन्छीजन्य उत्पादन नष्ट गरिएपछि कम्तीमा दुई महिनासम्म व्यवसाय पुनः सञ्चालन गर्न नपाइने व्यवस्था रहेको छ।

यसैबीच, बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार नष्ट गरिएका पन्छी तथा उत्पादनका किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराइने जनाइएको छ। राहत रकम जिल्लागत लागतका आधारमा सम्बन्धित निकायको निर्णयपछि निर्धारण गरिनेछ।