काठमाडौं, जेठ २७ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटबारे तथ्यभन्दा बाहिर गएर भ्रम र अफवाह फैलाउने प्रयास भएको बताएका छन्। उनले आफूलाई समेत निशाना बनाएर योजनाबद्ध रूपमा गलत सूचना प्रवाह गरिएको दाबी गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री वाग्लेले बजेटमाथि संसद्मा हुनुपर्ने छलफल अवरुद्ध पारिएको र त्यसको सट्टा विभिन्न अफवाह फैलाइएको टिप्पणी गरे।
उनले बजेटबारे उठाइएका प्रश्न र आरोपको स्पष्ट जवाफ दिन आफू संसदीय समितिमा उपस्थित भएको बताए। संसद्मा नीति तथा कार्यक्रम र बजेटमाथि रचनात्मक बहस हुनुपर्नेमा त्यसलाई प्रभावित पार्ने गतिविधि भएको उनको भनाइ थियो।
मन्त्री वाग्लेले बजेटका विषयमा फैलाइएका भ्रमको तथ्यगत आधार नरहेको संकेत गर्दै सार्वजनिक रूपमा उठेका जिज्ञासाको उत्तर दिन सरकार तयार रहेको बताए।
