कर चुहावट प्रकरणमा वाग्लेको चुनौती : प्रमाणित गर, म सार्वजनिक जीवन छाड्छु


कर चुहावट प्रकरणमा वाग्लेको चुनौती : प्रमाणित गर, म सार्वजनिक जीवन छाड्छु
  • नवकिरण
  • जेष्ठ २८, २०८३

काठमाडौं, जेठ २८ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनमा कर बढ्ने विषयको सूचना चुहाएको आरोपको कडा प्रतिवाद गरेका छन्। उनले उक्त आरोप पुष्टि गर्न सक्ने प्रमाण प्रस्तुत भए आफूले सार्वजनिक जीवनबाटै अलग हुने घोषणा गरेका छन्।

सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै मन्त्री वाग्लेले आफूविरुद्ध लगाइएका आरोपहरू तथ्यहीन रहेको बताए। प्रमाणबिना अर्बौं रुपैयाँको अनियमितताको आरोप लगाउनु गैरजिम्मेवार कार्य भएको उनको भनाइ थियो।

उनले आफू कुनै पनि प्रकारको आर्थिक अनियमिततामा संलग्न नरहेको दाबी गर्दै दुई रुपैयाँ बराबरको पनि बदमासी गरेको प्रमाणित भए अर्थमन्त्री, सांसद र सार्वजनिक व्यक्तित्वका रूपमा आफ्नो भूमिका त्याग्न तयार रहेको बताए।

मन्त्री वाग्लेले आरोप लगाउने पक्षलाई तथ्य र प्रमाणका आधारमा कुरा गर्न आग्रह गर्दै सार्वजनिक पदमा रहने व्यक्तिहरूले आफ्नो कामप्रति जवाफदेही हुनुपर्ने धारणा समेत राखे।