काठमाडौं, जेठ २८ – सरकारले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकलाई लक्षित गर्दै निःशुल्क बिमा कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ। यसअन्तर्गत दुर्घटना, स्वास्थ्य र जीवन बिमाको सुविधा उपलब्ध गराइनेछ।
प्रधानमन्त्री कार्यालयको पहलमा विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय भइरहेको छ। बिमा कार्यक्रममा समेटिने नागरिकका लागि आवश्यक कार्यविधि तयार पार्ने काम तीव्र गतिमा अघि बढाइएको छ।
काठमाडौं उपत्यकाका ६ वटा होल्डिङ सेन्टरमा बसिरहेका करिब १ हजार ५ सय नागरिक यस कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। अधिकांश लाभग्राहीको डिजिटल विवरण संकलन भइसकेको र बाँकीको तथ्यांक पनि अद्यावधिक गरिने जनाइएको छ।
सरकारका अनुसार बिमा शुल्कको सम्पूर्ण भार राज्यले नै व्यहोर्नेछ। कार्यक्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्दै आगामी वर्षहरूमा देशभर रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।
यस योजनाले सामाजिक सुरक्षाको पहुँचबाट टाढा रहेका नागरिकलाई आधारभूत बिमा सेवामा जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
