बजेट चुहावट प्रकरणमा वर्षमानको संसदीय छानबिन समितिको माग


बजेट चुहावट प्रकरणमा वर्षमानको संसदीय छानबिन समितिको माग
  • नवकिरण
  • जेष्ठ २९, २०८३

काठमाडौं, जेठ २९ – पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

प्रतिनिधिसभामा बोल्दै पुनले बजेट संसद्मा पेश भइसकेपछि त्यसमा परिवर्तन भएको विषयलाई सामान्य रूपमा लिन नसकिने बताए। उनले यस प्रकरणबारे विस्तृत अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन अपरिहार्य भएको धारणा राखे।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतका फाइलहरू खोल्ने अभिव्यक्ति दिएको सन्दर्भ उल्लेख गर्दै पुनले आफू अर्थमन्त्री रहेका समयका निर्णयहरू समेत छानबिन गर्न चुनौती दिए। विगतका त्रुटिलाई आधार बनाएर वर्तमानका कमजोरीलाई जायज ठहराउन नमिल्ने उनको भनाइ थियो।

“पहिले कसैले गल्ती गरेको थियो भने त्यसलाई देखाएर अहिले पनि त्यही गल्ती दोहोर्‍याउन पाइँदैन,” भन्दै उनले आवश्यक परे आफ्नो कार्यकालदेखि नै सबै फाइलको समीक्षा गर्न तयार रहेको बताए।

पुनले बजेट चुहावटसम्बन्धी आरोपको निष्पक्ष छानबिनका लागि तत्काल संसदीय समिति गठन गरी वास्तविकता बाहिर ल्याउन सरकार र संसद्को ध्यानाकर्षण गराएका छन्।