पृथ्वी राजमार्गमा सार्वजनिक शौचालयको अभाव, यात्रु झाडीको भरमा : आशिका तामाङ


पृथ्वी राजमार्गमा सार्वजनिक शौचालयको अभाव, यात्रु झाडीको भरमा : आशिका तामाङ
  • नवकिरण
  • जेष्ठ २९, २०८३

काठमाडौं, जेठ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले पृथ्वी राजमार्गमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा यात्रुहरू असहज अवस्था भोग्न बाध्य भएको बताएकी छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लामो दूरीको यात्रा गर्ने नागरिकले सामान्य आवश्यकता पूरा गर्न समेत समस्या झेल्नुपरेको उल्लेख गरिन्। सार्वजनिक शौचालयको अभावका कारण यात्रुहरू गाडी रोकेर झाडी तथा खुला स्थानतर्फ जान बाध्य हुने अवस्था रहेको उनको भनाइ थियो।

सांसद तामाङले राजमार्ग यात्रालाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सार्वजनिक शौचालयको पर्याप्त व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले राजमार्गका विभिन्न स्थानमा नियमित दूरीमा सार्वजनिक शौचालय निर्माण गर्न आवश्यक रहेको बताइन्।

यात्रुहरूको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै सार्वजनिक शौचालय निर्माणलाई प्राथमिकतामा राख्न उनले सरकारसँग आग्रह गरेकी छन्।