काठमाडौं, जेठ ३० – काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध गरिएको निगरानी तथा कारबाही अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा दुई हजार ५९८ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न प्रकारका ट्राफिक नियम उल्लङ्घन गर्ने चालकबाट रु १७ लाख ८६ हजार ५०१ राजस्व सङ्कलन भएको छ।
कार्यालयले जनाएअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १९९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६७ जना, ट्राफिक बत्तीको संकेत उल्लङ्घन गर्ने १२० जना तथा तीव्र गतिमा सवारी चलाउने १६८ जनामाथि कारबाही गरिएको छ।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने १२० जना, निषेधित क्षेत्रमा अनावश्यक हर्न बजाउने १२६ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १५६ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १८६ जना चालक पनि कारबाहीको दायरामा परेका छन्।
ट्राफिक प्रहरीले अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार ३५६ जना चालकलाई समेत कारबाही गरिएको जनाएको छ। ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक सुरक्षालाई थप मजबुत बनाउन नियमित अनुगमन तथा कारबाही अभियान जारी रहने कार्यालयले जनाएको छ।
