नौबिसे–मलेखु सडकमा ढिलाइ, मन्त्रीको अभिव्यक्तिले तात्यो राजनीति


नौबिसे–मलेखु सडकमा ढिलाइ, मन्त्रीको अभिव्यक्तिले तात्यो राजनीति
  • नवकिरण
  • अषाढ १, २०८३

काठमाडौं, असार १ – पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको अनुगमनका क्रममा दिएको अभिव्यक्ति विवादमा तानिएको छ। नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल स्थानान्तरण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनले ठेकेदारलाई लक्षित गरेर कडा टिप्पणी गरेका हुन्।

आइतबार धादिङको घाटबेसी क्षेत्रमा सडक आयोजनाको स्थलगत निरीक्षणका क्रममा मन्त्री लम्सालले सम्बन्धित ठेकेदारलाई खोजेर उपस्थित गराउन निर्देशन दिएका थिए। काममा निरन्तर ढिलाइ भएको गुनासो सुनेपछि उनले आक्रोश व्यक्त गरेको भिडियो सार्वजनिक भएको छ।

सडक विस्तारको काम अगाडि बढाउन आवश्यक बिजुलीका पोलहरू समयमै नसारिँदा निर्माण कार्य प्रभावित भएको आयोजना पक्षको भनाइ छ। नेपाल विद्युत् प्राधिकरणमार्फत सोहन कन्स्ट्रक्सनले पोल स्थानान्तरणको जिम्मेवारी पाएको भए पनि अधिकांश काम अझै सम्पन्न हुन सकेको छैन।

आयोजनाका अनुसार पूर्वी खण्डमा रहेका दर्जनौँ पोलका कारण निर्माण कार्यमा अवरोध भइरहेको छ। कतिपय स्थानमा नयाँ पोल जडान भए पनि पुराना संरचना हटाउन नसक्दा सडक विस्तारको गति सुस्त बनेको बताइएको छ।

मन्त्री लम्सालले निरीक्षणपछि पोल स्थानान्तरणको काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। स्थानीयवासीले लामो समयदेखि धुलो, जाम र जोखिमपूर्ण सडकको समस्या झेल्नुपरेकाले निर्माण कार्यमा कुनै पनि बहानामा ढिलाइ हुन नहुने उनको भनाइ थियो।

यसबीच मन्त्रीको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा बहस सुरु भएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिबाट संयमित भाषा प्रयोग हुनुपर्ने मत व्यक्त भइरहेका बेला केहीले भने विकास आयोजनामा हुने ढिलासुस्तीप्रति सरकारको कडा असन्तुष्टि स्वाभाविक भएको प्रतिक्रिया दिएका छन्।