सहकारी पीडितको रकम राज्यकोषबाट होइन, असुलीबाट फिर्ता गरिएको हो : रावल


सहकारी पीडितको रकम राज्यकोषबाट होइन, असुलीबाट फिर्ता गरिएको हो : रावल
  • नवकिरण
  • अषाढ ३, २०८३

काठमाडौं, असार ३ – भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पीडितलाई बचत रकम फिर्ता गर्न राज्यकोषको रकम प्रयोग गरिएको भन्ने आरोप असत्य रहेको बताएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री रावलले समस्याग्रस्त सहकारीका बचतकर्तालाई फिर्ता गरिएको रकम सम्बन्धित संस्थाका सञ्चालक तथा जिम्मेवार पदाधिकारीहरूबाट असुली गरेर उपलब्ध गराइएको स्पष्ट पारिन्।

उनले सरकारले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न प्रत्यक्ष रूपमा कुनै आर्थिक भार व्यहोरेको छैन भन्दै यस विषयमा फैलिएको भ्रम चिर्न आवश्यक रहेको उल्लेख गरिन्। उनका अनुसार बचत फिर्ता प्रक्रिया कानुनी दायराभित्र रही सम्बन्धित व्यक्तिहरूबाट रकम असुली गरी अघि बढाइएको छ।

मन्त्री रावलले पछिल्लो तीन महिनामा आठ वटा समस्याग्रस्त सहकारी संस्थाका एक हजार ४५२ जना बचतकर्तालाई ५९ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गरिएको जानकारी दिइन्। ती बचतकर्ताहरूको बचत रकम १० हजार रुपैयाँ वा सोभन्दा कम रहेको उनले बताइन्।

यही अवधिमा ३ करोड ५४ लाख रुपैयाँभन्दा बढी ऋण असुली भएको उल्लेख गर्दै उनले सहकारी क्षेत्रको समस्या समाधानका लागि सरकारले आवश्यक पहल जारी राखेको बताइन्।

साथै, संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको मन्त्री रावलको भनाइ थियो।