काठमाडौं, असार ४ – महावीर पुन ले देशप्रतिको माया र समर्पणका कारण आफू राजनीतिक यात्रामा अघि बढेको र अन्ततः आफूलाई “व्यवहारिक जोगी” जस्तो महसुस हुने बताएका छन्।
बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले आफ्नो जीवन यात्रा व्यक्तिगत इच्छा नभई देशसेवाप्रतिको भावनाबाट प्रेरित भएको स्पष्ट पारे।
उनका अनुसार सुरुमा गाउँसँग गहिरो सम्बन्ध बनेको, त्यसपछि क्रमशः जिल्ला हुँदै राष्ट्रिय स्तरसम्म पुग्दा त्यो सम्बन्ध “देशसँगको पिरती” मा रूपान्तरण भएको हो।
“सुरुमा एकैचोटि देशसँग पिरती बसेको होइन, गाउँबाट सुरु भयो, विस्तारै जिल्ला हुँदै देशसँग जोडियो,” उनले संसदमा भने।
उनले पुरानो चर्चित गीत “म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो” स्मरण गर्दै आफू पनि त्यही भावनात्मक अवस्थाबाट प्रभावित भएको टिप्पणी गरे।
मन्त्री पुनले मन्त्री बनेपछि जिम्मेवारी थपिए पनि आफ्नो जीवनशैली र सोच अझै सरल र सेवामुखी रहेको उल्लेख गर्दै आफूलाई व्यवहारिक रूपमा “जोगी” नै महसुस हुने बताएका हुन्।
