चितवनको सौराहा पुगे प्रधानमन्त्री बालेन शाह


चितवनको सौराहा पुगे प्रधानमन्त्री बालेन शाह
  • नवकिरण
  • अषाढ ८, २०८३

चितवन, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन आएका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह सोमबार परिवारसहित पर्यटकीय क्षेत्र सौराहा पुगेका छन्।

सौराहामा उनले चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रको अवलोकन गर्दै हात्ती संरक्षण, प्रजनन प्रक्रिया तथा व्यवस्थापन प्रणालीबारे जानकारी लिएका छन्। साथै उनले पर्यापर्यटन र वन्यजन्तु संरक्षणसँग सम्बन्धित गतिविधिप्रति विशेष चासो देखाएको बताइएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सौराहाको प्राकृतिक सौन्दर्य, जैविक विविधता र पर्यटन सम्भावनाबारे प्रशंसा गरेका थिए। स्थानीय स्रोतका अनुसार उनले “यहाँको वातावरण अत्यन्तै आकर्षक र संरक्षणयोग्य छ” भन्दै दीगो पर्यटन विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

परिवारसहित आएका प्रधानमन्त्री शाहले स्थानीय पर्यटन व्यवसायी र सरोकारवालासँग समेत अनौपचारिक कुराकानी गरेका थिए। उनीहरूले सौराहाको पर्यटन विकास, संरक्षण र पूर्वाधारबारे जानकारी गराएका थिए।

यसैबीच प्रधानमन्त्री शाह हाल कालिका नगरपालिका–शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बसोबास गरिरहेको जनाइएको छ। सौराहा भ्रमणका कारण क्षेत्रको पर्यटन गतिविधि र चहलपहल बढेको स्थानीय व्यवसायीहरूको भनाइ छ।