अब प्रहरीले पनि महिनामा दुई पटक तलब पाउने


अब प्रहरीले पनि महिनामा दुई पटक तलब पाउने
  • नवकिरण
  • अषाढ १०, २०८३

काठमाडौं, असार १० – नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई अब प्रत्येक १५ दिनमा तलब उपलब्ध गराउने भएको छ। प्रहरी प्रधान कार्यालयले यससम्बन्धी निर्णय कार्यान्वयनका लागि देशभरका मातहतका कार्यालयलाई निर्देशन पठाएको छ।

प्रहरी मुख्यालयले जारी गरेको परिपत्रअनुसार आगामी आर्थिक वर्षदेखि प्रहरी कर्मचारीले मासिक तलब एकैपटक नभई अर्धमासिक रूपमा प्राप्त गर्नेछन्। यसका लागि तलब भुक्तानी प्रणालीमा आवश्यक प्राविधिक तथा प्रशासनिक व्यवस्था मिलाइसकिएको जनाइएको छ।

प्रशासन विभागका डीआईजी हिमालयकुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको निर्देशनबमोजिम राष्ट्रसेवक कर्मचारीलाई प्रत्येक १५ दिनपछि तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गरिएको उल्लेख छ।

नयाँ व्यवस्थाले कर्मचारीको आर्थिक व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ। यससँगै प्रहरी कर्मचारीले अब महिनामा दुई पटक आफ्नो तलब पाउने भएका छन्।