धनगढी, १७ असार – कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रमा विद्यालयबाट हराएकी एक बालिकाको शव स्थानीय रोरा खोलाको किनारमा फेला परेको छ। मृतक ६ वर्षीया मनिषा बिक जनचेतना आधारभूत विद्यालयको शिशु कक्षामा अध्ययनरत थिइन्।
प्रहरीका अनुसार मंगलबार बिहान विद्यालय पुगेकी मनिषा विद्यार्थी संख्या कम भएकाले चाँडै बिदा भएपछि एक्लै घर फर्किएकी थिइन्। नियमित रूपमा अभिभावक ११ बजे लिन आउने गरे पनि त्यस दिन विद्यालयले करिब १० बजेमै बिदा दिएको बताइएको छ।
बालिका घर नपुगेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। बुधबार बिहान करिब पौने ११ बजे उनको शव रोरा खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा वर्षापछि बढेको खोला पार गर्ने क्रममा उनी बगेको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
