काठमाडौं, असार २० – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडा नजिक कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडीको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले अत्याधुनिक उपकरणसहित विशेष गोताखोर टोली परिचालन गरेको छ।
विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली घटनास्थलतर्फ पठाइएको हो। टोलीले शनिबारदेखि खोजी अभियानमा सक्रिय रूपमा सहभागिता जनाउने जनाएको छ।
खोजीका लागि पानीमुनिको अवस्था पहिचान गर्न प्रयोग हुने सोनार क्यामरा, म्याग्नेटलगायत विशेष उपकरण प्रयोग गरिनेछ। ती उपकरणको सहायताले नदीको गहिराइमा रहेको गाडी तथा बेपत्ता यात्रुको खोजीलाई प्रभावकारी बनाइने विश्वास गरिएको छ।
गत बिहीबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ६ देखि ७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।
दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट ६ जना गोताखोरसहितको उद्धार टोली तत्काल परिचालन गरिएको थियो।
घटनाकै दिन दुर्घटनास्थलबाट करिब ४ सय मिटर तल एक पुरुषको शव फेला परेको भए पनि गाडी र अन्य यात्रुको अझै अत्तोपत्तो लाग्न सकेको छैन। खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
