१०० दिनका उपलब्धि सार्वजनिक गर्दै मन्त्री रावल: १,७५४ सहकारी बचतकर्ताको रकम फिर्ता, २९ परिवारलाई लालपुर्जा


१०० दिनका उपलब्धि सार्वजनिक गर्दै मन्त्री रावल: १,७५४ सहकारी बचतकर्ताको रकम फिर्ता, २९ परिवारलाई लालपुर्जा
  • नवकिरण
  • अषाढ २०, २०८३

काठमाडौं, असार २० – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री प्रतिभा रावलले आफ्नो कार्यकालको पहिलो १०० दिनमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन्। मन्त्रालयले ४८ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै प्रशासन, सहकारी र भूमि व्यवस्थापन क्षेत्रमा भएका कामहरू प्रस्तुत गरेको हो।

सार्वजनिक विवरणअनुसार देशभर रिक्त वा निमित्तको भरमा सञ्चालन भइरहेका २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ। सहकारी क्षेत्रमा १ हजार ७५४ साना बचतकर्तालाई करिब २ करोड ६३ लाख रुपैयाँ फिर्ता गरिनुका साथै १५४ ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार ३१० रुपैयाँ ऋण असुल गरिएको मन्त्रालयले जनाएको छ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमध्ये २९ परिवारलाई लालपुर्जा वितरण गरिएको छ भने ६ स्थानीय तहबाट नापी र मालपोत सेवा सञ्चालनमा ल्याइएको छ। वडा तहबाटै डिजिटल सिफारिस गर्न सकिने सफ्टवेयर प्रणाली परीक्षण चरणमा पुगेको पनि मन्त्रालयले जनाएको छ।

प्रगति विवरणमा कर्मचारी ट्रेड युनियनसम्बन्धी व्यवस्था हटाइएको, बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नेपाल सरकारको नाममा ल्याइएको तथा मालपोत र नापी कार्यालयमा सेवाग्राहीबाहेक अन्य व्यक्तिको प्रवेश नियन्त्रण गरिएको उल्लेख छ। साथै बागमती, गण्डकी र मधेस प्रदेशमा निजामती अस्पतालको सेवा विस्तार गर्नुका साथै सिंहदरबारभित्र पनि सेवा एकाइ सञ्चालनमा ल्याइएको जानकारी दिइएको छ।

त्यसैगरी सम्पर्कविहीन र विदेशी आवासीय अनुमति लिएका कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको, ‘मेरो कित्ता’ मोबाइल एप सञ्चालनमा ल्याइएको, बैंकबाटै जग्गा रोक्का फुकुवा गर्ने व्यवस्था लागू गरिएको तथा सहकारी अनियमितता छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।