सुकुम्बासीको हकमा सरकार गम्भीर, कमजोरी सुधार्दै अघि बढ्ने


सुकुम्बासीको हकमा सरकार गम्भीर, कमजोरी सुधार्दै अघि बढ्ने
  • नवकिरण
  • अषाढ २३, २०८३

काठमाडौं, असार २३ – गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी व्यवस्थापनका क्रममा भएका कमी–कमजोरीलाई सच्याउँदै सरकार अघि बढ्ने बताएका छन्। राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सुकुम्बासीको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे।

सांसद रेणु चन्दले सुकुम्बासी महिलाको अवस्था उठाउँदै सरकारबाट विस्थापित भएका महिलाका लागि गृहमन्त्रालयको भूमिका के हुने भन्ने प्रश्न गरेपछि गृहमन्त्री गुरुङले मन्त्रालय सबै नागरिकका लागि खुला रहेको बताए। उनले महिलासम्बन्धी कुनै पनि विषयमा सरकार संवेदनशील रहेको र आवश्यक परे प्रत्यक्ष रूपमा समेत काम गरिरहेको उल्लेख गरे।

गृहमन्त्री गुरुङले सुकुम्बासी व्यवस्थापनका क्रममा केही त्रुटि भएको भए त्यसलाई स्वीकार गर्दै सुधारका साथ अघि बढ्ने प्रतिबद्धता जनाए। उनले कुनै पनि नागरिक अन्यायमा नपरोस् भन्ने उद्देश्यका साथ सरकारले व्यवस्थापन प्रक्रिया थप प्रभावकारी बनाउँदै लैजाने बताए।

उनका अनुसार सुकुम्बासीको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक काम गरिरहेको छ र देखिएका समस्या क्रमशः समाधान गर्दै अघि बढिनेछ।