संविधान संशोधनबारे कांग्रेसको धारणा सार्वजनिक, गगन थापाले दिए दुई विकल्प


संविधान संशोधनबारे कांग्रेसको धारणा सार्वजनिक, गगन थापाले दिए दुई विकल्प
  • नवकिरण
  • अषाढ २५, २०८३

काठमाडौं, असार २५ – नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन बहसका लागि सरकारले बनाएको कार्यदलबाट राजनीतिक दलहरू बाहिरिने अवस्था पहिल्यै अनुमान गरिएको बताएका छन्।

बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले वैशाखमै यस्तो अवस्था आउन सक्ने जानकारी आफूहरूसँग रहेको दाबी गरे।

उनले अहिले विभिन्न दलहरूले आफ्ना प्रतिनिधि फिर्ता बोलाए पनि कांग्रेसले यस विषयमा पहिले नै तयारी थालेको बताए। कार्यदलमा सहभागी हुनुको सट्टा कांग्रेसले आफ्नै तवरबाट संविधान संशोधनबारे छलफल अघि बढाएको उनको भनाइ थियो।

सभापति थापाले संविधान संशोधनका लागि कांग्रेसले सुरुदेखि नै स्पष्ट धारणा राख्दै आएको बताए। उनका अनुसार संशोधन प्रक्रियाका लागि विज्ञ र न्याय क्षेत्रका व्यक्तिहरू सम्मिलित समिति गठन गर्न सकिने वा संसद्भित्रै विशेष समिति बनाएर अघि बढ्न सकिने विकल्प छन्।

उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा हतार नगरी प्राथमिकता निर्धारण गरेर अघि बढ्नुपर्ने बताए। पहिलो चरणमा संविधानले नै पुनरावलोकन आवश्यक ठानेका विषयहरूमा संशोधन गर्नुपर्ने कांग्रेसको धारणा रहेको उनले उल्लेख गरे।

थापाले विश्वासको वातावरण बनेपछि मात्रै शासन प्रणाली, निर्वाचन प्रणाली र संघीयतासम्बन्धी विषयमा छलफल गर्न उपयुक्त हुने बताए।

सबै विषय एकैपटक उठाउँदा राजनीतिक तथा संवैधानिक जटिलता बढ्न सक्ने भन्दै उनले संविधान संशोधनलाई सहमति र चरणबद्ध प्रक्रियाबाट अघि बढाउनुपर्नेमा जोड दिए।