काठमाडौं, असार २६ – गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहपछि उठेका प्रश्नमाथि संसदबाट जवाफ दिँदै स्थानीय सरकारको भूमिकाबारे प्रतिप्रश्न गरेका छन् ।
गृहमन्त्री गुरुङले गणेश नेपालीलाई बचाउन सरकारका तर्फबाट आवश्यक प्रयास गरिएको दाबी गरे । आफू पनि घटनास्थलमा पुगेर उद्धार तथा उपचारका लागि पहल गरेको उल्लेख गर्दै उनले सरकारी प्रयासमाथि गरिएको आलोचनाप्रति आपत्ति जनाए ।
संसदमा बोल्दै उनले देशमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार रहेको स्मरण गराउँदै स्थानीय तहको जिम्मेवारीबारे प्रश्न उठाए । उनले भने, ‘स्थानीय सरकार कसको छ ? गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने को हो ?’
गृहमन्त्री गुरुङले नेपालीको मोटरसाइकलमा ट्राफिक प्रहरीले नभई महानगर प्रहरीले ह्वील लक लगाएको जानकारी दिए । उनले घटनाको जिम्मेवारी र भूमिकाबारे सबै पक्षले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे ।
उनले संसदमा चर्को आवाज उठाएर मात्र जनताको समस्या समाधान नहुने बताए । जनताको सेवाका लागि घटनास्थलमा पुगेर काम गर्नुपर्ने भन्दै उनले व्यवहारिक पहललाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।
