मेलम्चीको पानी काठमाडौंमा, स्रोत क्षेत्रका स्थानीय भने प्यासै


मेलम्चीको पानी काठमाडौंमा, स्रोत क्षेत्रका स्थानीय भने प्यासै
  • नवकिरण
  • अषाढ २८, २०८३

काठमाडौं, असार २८ – राजधानी काठमाडौंको खानेपानीको मुख्य स्रोत सुन्दरीजल आसपासका बासिन्दा भने अझै स्वच्छ खानेपानीको पहुँचबाट टाढा छन्। मेलम्चीको पानी सुन्दरीजलमै प्रशोधन भएर उपत्यकाभरि वितरण भइरहे पनि स्थानीयले दैनिक उपभोगका लागि सार्वजनिक धारा, कुवा र ढुङ्गेधाराको सहारा लिनुपरेको बताएका छन्।

गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न बस्तीमा वर्षौंदेखि नियमित खानेपानी नपुगेको भन्दै स्थानीयले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। तर समस्या समाधानतर्फ ठोस प्रगति हुन नसकेको उनीहरूको गुनासो छ।

यसै विषयलाई लिएर काठमाडौं क्षेत्र नम्बर–३ का सांसद राजुनाथ पाण्डेले संसद्को समितिमा समेत आवाज उठाएका थिए। स्थानीयको समस्या तत्काल समाधान नभए मेलम्चीको पानी राजधानीमा वितरण गर्न नदिने चेतावनीसमेत उनले दिएका थिए। शनिबार उनले सुन्दरीजलस्थित प्रशोधन केन्द्र पुगेर केयुकेएलका अधिकारीहरूसँग छलफल गर्दै आवश्यक सुधारका लागि पहल गर्न निर्देशन दिएका छन्।

स्थानीयवासीका अनुसार केही लिटर पानीका लागि पनि आधा घण्टाभन्दा बढी हिँड्नुपर्ने र सार्वजनिक धारामा लामो समय पालो कुर्नुपर्ने अवस्था छ। खानेपानीको सहज पहुँच नहुँदा दैनिक जीवन नै प्रभावित भएको उनीहरूको भनाइ छ।

नगरपालिकाले पाइपलाइन विस्तारका लागि लगानी गरे पनि वितरण प्रणाली प्रभावकारी नबन्दा अपेक्षित परिणाम नआएको गोकर्णेश्वर नगरपालिकाले स्वीकार गरेको छ।

केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहका अनुसार अहिलेको मुख्य समस्या पुरानो पाइपलाइन हो। दशकौँअघि निर्माण गरिएको वितरण प्रणालीले अहिलेको जनसंख्या र माग धान्न नसक्ने भएकाले नयाँ प्रणाली निर्माण गर्ने तयारी अघि बढाइएको उनले बताए।

यता, सुन्दरीजलको पुरानो वाग्मती पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बौद्धलगायत क्षेत्रमा धमिलो पानी पुग्ने गरेको स्थानीयको गुनासो छ। नागरिकहरूले यस्तो पानी प्रयोग गर्दा स्वास्थ्य तथा सरसफाइमा समस्या हुने भन्दै सम्बन्धित निकायसँग तत्काल सुधारको माग गरेका छन्।